एकपटकको पूरा चार्जमा १ सय ७० किमी कुद्ने
नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले आफ्नो विद्युतीय कार आगामी महिना लन्च गर्ने भएको छ।
‘हुलास इ-कार’ नामबाट लन्च गरिने यो कारको मूल्य १४ लाख ३० हजार रुपैयाँ पर्नेछ।
निर्माणको घोषणा गर्दा करिब १७ लाख रुपैयाँ पर्ने भनिएको भए पनि हाल सरकारले विद्युतीय सवारीमा लाग्ने भन्सार कर घटाएसँगै आफ्नो कारको पनि मूल्य घटाएको हुलास मोटर्सका निर्देशक सुरेन्द्र गोल्छाले बताए।
‘अब १५/२० दिनमै हुलास इ-कार लन्च गर्ने तयारी गरेका छौँ। पहिले १७ लाख भनिएपनि कर घटेपछि १४ लाख ३० हजार मूल्य तोकिएको हो,’ निर्देशक गोल्छाले भने।
हुलास मोटर्सले गत चैत महिनामा विद्युतीय कार निर्माण गर्ने घोषणा गरेको थियो।
बि.सं.२०५४ सालदेखि काम सुरु गरेको हुलास मोटर्सले सन् २०१५ मुस्ताङ म्याक्स गाडीको उत्पादन बन्द गरेको थियो भने हाल विद्युतीय रिक्सा उत्पादन गर्दै आएको छ। यूरो थ्री गुणस्तरको मापदण्ड पूरा नभएको मुस्ताङ म्याक्स अपग्रेड गर्न कम्पनीले मागेको आवश्यक समयका लागि सरकारले अनुमति नदिएपछि उत्पादन नै बन्द गरेको थियो।
हाल आएर कम्पनीले फेरि हुलास मोटर्सको तर्फबाट विद्युतीय कार ल्याउन लागेको हो। नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्धन र विस्तार जरुरी भएका कारण कम्पनीले यसमा काम गरेको गोल्छाको भनाइ छ।
विद्युतीय सवारीसाधनको मुख्य अंग यसको ब्याट्री नै मानिन्छ। गोल्छाकाअनुसार उक्त कारको ब्याट्री फुल चार्ज गर्न करिब ७ देखि ८ घण्टा समय लाग्नेछ। यो एकपटक चार्ज गरेपछि १ सय ७० किलोमिटरसम्म गुड्नेछ।
तर यो किलोमिटर निश्चित मापदण्डमा आधारित हुने उनले जानकारी दिए। उनले भने, ‘१ सय ७० किलामिटर हामी स्ट्याण्डर्ड टेस्ट कण्डिसनमा दिएको हो। यो फरक पर्न सक्छ।’
गोल्छाकाअनुसार यस विद्युतीय कारमा एसिड हाल्न नपर्ने ‘मेन्टिनेन्स फ्रि’ जेल ब्याट्री हुनेछ। हुलास इ-कारमा ५ केडब्लु, एसी मोटर हुनेछ।
सरकारले कर घटाएसँगै हाल नेपालमा उपलब्ध महिन्द्राको विद्युतीय कार ‘इ-टुओ’ को मूल्य पनि करिब ३ लाख रुपैयाँ घट्ने कम्पनीले बताएको छ। महिन्द्रा इ-टुओको नयाँ मूल्य २१ देखि २२ लाख हुने अनुमान गरिएको छ।
इ-टुओको तुलनामा हुलास इ-कार झण्डै ७ लाख रुपैयाँ सस्तो पर्न आउँछ।
१४ लाख ३० हजार रुपैयाँ पर्ने हुलास इ-कारमा पेट्रोल गाडीमा जस्तो धेरै फिचर भने नहुने गोल्छाले बताएका छन्। उनकाअनुसार यसमा नेपाली सडकमा अत्यावश्यक हुने र इन्ट्रिलेबल कारमा दिनसक्ने फिचर दिइनेछ।
मूल्य कम होस् भनेर पनि यसमा सामान्य कारमा हुने जस्ता आवश्यक फिचर मात्र हुने कम्पनीको भनाइ छ।
सधैँ वेवास्ता गरिएको विद्युतीय सवारीसाधनले नाकाबन्दीमा भने निकै चर्चा पाउनुका साथै उपभोक्तादेखि लिएर सरकारको समेत ध्यानाकर्षण गराएको थियो। सरकारले विद्युतीय सवारीलाई प्रवर्धन गर्न यसमा लाग्ने भन्सार कर पनि ४० प्रतिशतबाट घटाएर १० मात्र बनाएको छ।
योसँगै विद्युतीय सवारीसाधनको व्यापार बढ्दो छ भने ग्राहक पनि यस तर्फ आकर्षित हुँदै गएका छन्।
प्रकाशित मिति: सोमबार, आषाढ २०, २०७३ १०:३१:०९
No comments:
Post a Comment