कार्यसम्पादनमा कमलामाई नगरपालिका सातौँ
सिन्धुली,३१ असार – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत स्थानीय निकाय वित्तिय आयोगले २०७१/७२ मा गरेको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्यांकनका आधारमा कमललामाई नगरपालिका देशभरका नगरपालिकाहरू मध्ये सातौँ स्थानमा पर्न सफल भएको छ । नगरपालिका रहेको अवस्थामा एकवर्ष भरी सम्पन्न गरेका कामहरुको आधारमा कमलामाई नगरपालिका सातौँ भएको हो ।
स्थानीय निकायहरुको काम र कार्य सम्पादनका आधारमा हरेक वर्ष स्थानीय निकाय वित्तिय आयोगले मूल्यांकन गरी पुरस्कृत गर्ने गर्दछ ।
सातौँ स्थान प्राप्त गरेसँगै कमलामाई नगरपालिकाले प्राप्त गर्ने अनुदानमा १५ प्रतिशत थप हुने भएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा भएको प्रावधान बमोजिम सरकारले स्थानीय निकायलाई एमसिपिएममा मूल्यांकन गरी अनुदानमा थपघट र उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्न सक्ने व्यवस्था गरेको हो ।
सोहि ऐन अनुरुप सरकारको निर्णय अनुसार स्थानीय निकाय वित्तीय आयोगको गठन गरि गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिलाई न्यूनतम शर्त र कार्य सम्पादनको आधारमा मूल्यांकन गर्ने गरिएको हो ।
वित्तिय आयोगले स्थानीय निकायहरुलाई न्यूनतम शर्त मापनका १० वटा र कार्यसम्पादन मापनका विभिन्न ४० वटा सूचकको आधारमा अंक दिई उत्कृष्ट घोषणा गर्ने गर्दछ ।
जसमध्ये कार्यसम्पादन मापनमा स्थानीय शासन, वित्तिय श्रोत परिचालन तथा व्यवस्थापन, योजना तथा कार्यक्रम व्यवस्थापन, संगठन तथा जनशक्ति विकास र शहरी आधारभूत सेवा व्यवस्थापन अन्तर्गतका विभिन्न सूचकहरुको कामको आधारमा अंक दिने गर्दछ।
दोश्रोपटक उत्कृष्ट सातौँ स्थान भएसँगै कमलामाई नगरपालिकाको खानेपानीको आपूर्ति, फोहोरमैला व्यवस्थापन, बढ्दै गएको शहरीकरण र अव्यवस्थित बस्तीको व्यवस्थापन गर्दै नगरवासीका चाहना र आवश्यकता जस्ता कुराहरू अगाडि चुनौतीका रुपमा खडा भएका छन् ।
कमलामाई नगरपालिकाका सुचना अधिकृत बिनोद बाबु खकुरालले नगरपालिकाको एक्लो प्रयासले मात्र नभई सबै राजनितिक दल, यहाँका उपभोक्ता, विभिन्न संघसंस्था, मिडिया सबैको सामूहिक पहल र मेहनतबाट अहिलेको सफलता प्राप्त गर्न सकिएको बताए ।
‘कमलामाई नगरपालिकाले पाएको यो सफलतामा सबै नगरवासीको समान योगदान छ र विगतदेखि पाएको सफलतालाई आगामी दिनमा पनि सबै मिलेर जोगाउनु छ ।’ खकुरालले भने ।
No comments:
Post a Comment