Tuesday, 7 June 2016

क्यान्सर रोगको चरण पत्ता लगाउने मेसिन अब नेपालमा




सेवा लिन ६२ हजार रुपैयाँ
क्यान्सर रोगको चरण पत्ता लगाउन प्रयोग हुने पोजिट्रोन इमिसन टोमोग्राफी (पिइटी–सिटी स्क्यान) मेसिन अब नेपालमा उपलब्ध भएको छ ।

सुरिया डायगोनोस्टिक प्रालिले १३ करोडको लगानीमा पहिलो पटक यो मेसिन नेपालमा ल्याएको हो । यो मेसिनको अभावमा बर्सेनि १५ हजार नेपाली उपचार गराउन भारत जाने गरेकाले यो मेसिन नेपाल ल्याउने चुनौती लिएको सुरिया प्रालिका प्रमुख कार्यकारी अधिकृत डा क्रिताञ्जली कोइरालाले बताईन्।

उनले भनिन् – “नेपालमा यो मेसिनको अभाव लामो समयदेखि खट्किरहेको थियो । दक्ष चिकित्सक हुँदाहुँदै पनि बर्सेनि हजारौँ नेपाली पिइटी–सिटी स्क्यानका लागि मोटो रकम खर्चेर भारत, सिङ्गापुर, थाइल्यान्डलगायतका अन्य मुलुक जान बाध्य छन् । अब यो अवस्था लामो समय रहनुहुँदैन भनी जोखिम मोलेर यो सेवा सुरु गरिएको हो ।”

उनले यो मेसिनले रोगको पहिचान तथा अवस्था मूल्याङ्कन गर्न, रोगमा प्रयोग गरिएको औषधि शरीरमा प्रभावकारी भए÷नभएको पत्ता लगाउन र क्यान्सर पुनरावृत्ति वा मुक्त भएको अवस्था पत्ता लगाउन पनि सहयोग पु¥याउने बताईन् ।

यसका अलावा मुटु रोग तथा मस्तिष्कसम्बन्धी रोगको मूल्याङ्कन गर्न पनि यो मेसिन उपयोगी हुने बताइएको छ ।

यही मेसिनको अभावमा पूर्व राष्ट्रपति डा रामवरण यादव क्यान्सर परीक्षणका लागि जापान गएका थिए।

डा कोइरालाले भारतको चेन्नईमा रहेको सुरिया अस्पतालको संयुक्त लगानीमा यो मेसिन नेपाल ल्याएको र यसको सेवा लिन ६२ हजार रुपैयाँ खर्च लाग्ने बताईन् ।

उनले भनिन् – “यसका लागि प्रयोग हुने औषधि महँगो छ, ३६ हजार रुपैयाँ पर्छ । त्यसकारण यो महँगो हुन गएको हो । भारतमा सेवा लिँदा ३० हजार भारतीय रुपैयाँ तिर्नुपर्छ ।”

एक महिना अगाडि जडान गरिएको यो मेसिनले आजको मितिसम्म सात जना क्यान्सर बिरामीको पिइटी–सिटी स्क्यान गरिसकेको डा कोइरालाले जानकारी दिईन्

No comments:

Post a Comment