जाईकाले बनेपा–सिन्धुली–वर्दिबास सडक निर्माण सम्पन्न गरेको केही महिनापछि आएको विनाशकारी भूकम्पले सडकको २० ठाउँमा क्षति पुग्यो। तत्कालको लागि नेपाली निर्माण कम्पनीले नै अस्थायी रुपमा मर्मत गरी सडक प्रयोगमा ल्याएको थियो। अब भने जाईकाको समय दुई वर्ष थप गरी स्थायी रुपमै निर्माण सम्पन्न गर्ने तयारी भएको छ। यो सडकको मर्मत नेपाली निर्माण कम्पनीहरुले गर्न सक्ने अवस्था नरहेको देउजुले बताए।
भूकम्पले क्षति पुर्याएको बनेपा–सिन्धुली सडकको स्थायी रुपमा मर्मत गरिने भएको छ। जाईकाले निर्माण सम्पन्न गरेको केही महिनापछि गएको विनाशकारी भूकम्पका कारण सडक ब्रिगन पुगेको थियो।
भूकम्पका कारण मात्र नभई लापरबाही रुपमा बढी भार पर्ने सवारी साधनको प्रयोग हुँदा पनि सडक बिग्रिएको बनेपा–सिन्धुली सडक योजनाका प्रमुख भरतकाजी देउजुले बताए। जापान सरकारको सहयोगमा करिब १३ वर्ष लगाएर यो सडक निर्माण सम्पन्न भएको थियो। सडकलाई चार सेक्सनमा विभाजन गरी निर्माण गरिएको थियो।
सेक्सन ए मा बर्दिवास–सिन्धुली खण्डको करिब ३७ किलोमिटर, सेक्सन बीमा सिन्धुली–खुर्कोटको करिब ३७ किलोमिटर, सेक्सन सीअन्र्तगत खुर्कोट–नेपाल थोकसम्मको ३६ किलोमिटर र नेपाल थोक–धुलिखेलसम्मको ५५ किलोमिटर गरी १ सय ६० किलोमिटरको सडक निर्माण जाईकाले सम्पन्न गरेको थियो। सडक मूल्याङ्कनको क्रममा २० ठाउँमा क्षति देखिएको उनले बताए।
भूकम्पका कारण सडक कतिपय स्थानामा चर्किएको छ भने केही सडकछेउँ भास्सिएको छ। केही स्थानमा पहिरो समेत गएको थियो। त्यस्तो अवस्थाको सडक पनि आफूहरुले तत्काल नै मर्मत गरी प्रयोगमा ल्याएको उनले बताए।
भारतले गरेको नाकाबन्दी र तराईमा भएको हड्तालको समयमा यो सडकमा ठूला सवारी साधन बढी मात्रामा संचालनमा आएका थिए। सडकको क्षमताभन्दा बढी भार पर्दा पनि सडक बिग्रन पुगेको देउजु बताउँछन्।
क्षति पुगेको ठाउँमा पनि आफूहरुले एक घण्टा पनि सवारी आगमन अवरोध नगरी मर्मत गरिएको उनले स्पष्ट पारे। सडक तत्कालको लागि मर्मत भएपनि स्थायी रुपमा पहिलेकै अवस्थामा ल्याउन भने नेपाली निर्माण कम्पनीहरुले नसक्ने उनको दावी छ। पुनः सडक स्थायी रुपले मर्मतका लागि जाइकाको दुई वर्ष अवधि थप गरेको उनले बताए।
अवधि थपसँगै अब जाइकाले सडकको मर्मत गर्ने र पहिलेकै अवस्थामा आउने उनको भनाई छ। ‘सडक देखावटीका लागि मर्मत भएर मात्रै हुँदैन’, उनले भने, ‘पहिलेकै जस्तोगरी बनाउन पुरानै निर्माणकर्ता आवश्यक ठान्यौँ।’ मर्मतपछि पनि क्षमता भन्दा बढी लोडका सवारी साधन भने प्रयोग गर्न नहुनेमा उनले जोड दिए। बढी लोड भएका सवारी साधन प्रयोगमा सरकारले बन्देज लगाउनु पर्ने देउजु बताउँछन्।
‘सबैभन्दा पहिले साना सवारी साधन र १० टन सम्मका सवारी साधनलाई स्थायी रुट परमिट दिनपर्नेछ, त्यसपछि सडकमा ओभर लोड क्षमता भएका ट्रक, टिपर तथा ठूला बस सञ्चालनमा रोक लगाउनुपर्छ’ उनले भने। अन्यथा मर्मतपछि पनि सडक दिनदिनै बिग्रँदै जाने र सडकको स्थिति नै जटिल हुने उनको भनाई छ।
‘खुर्कोट सिन्धुली सडकमा साना मोडहरु धेरै र पहरामा पर्खाल लगाएर निर्माण गरिको छ’, उनले भने, ‘अन्य ठाउँमा केही ठूला सवारी प्रयोग गर्न सकिने अवस्था रहे पनि यो खण्डमा भने १० टन भन्दा बढी क्षमता भएका सवारी प्रयोग गर्न मिल्ने अवस्था छैन।’
No comments:
Post a Comment