Saturday, 25 June 2016

बाहिरी चक्रपथका लागि जग्गा विकास गरिने

   

 काठमाडौँ–निजगढ दु्रुतमार्ग र त्रिभुवन राजपथलाई जोड्ने गरी प्रस्तावित बाहिरी चक्रपथको चोभारदेखि काठमाडौँको गाम्चा हुँदै सतुङ्गलखण्डको ६. ६ किमी क्षेत्रमा पर्ने आठ हजार रोपनी जग्गा विकास गरिने भएको छ।

बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा यो खण्डमा जग्गा विकास गर्न लागिएको हो । जग्गा विकासका लागि एउटै प्लट हो भनी रोक्का गरेर प्रक्रिया अघि बढाइएको बाहिरी चक्रपथ आयोजनाले जनाएको छ।

 जग्गा विकास प्रक्रिया सुरु भए पनि कित्ता पूरै बेच्न पाइने तर कित्ताकाट गरेर बेच्न नपाइने आयोजना प्रमुख रमामैयाँ मानन्धरले जानकारी दिइन्।

“जग्गा विकास गर्दा हरेक घडेरीमा सडक, ढल, बिजुली, धारालगायतका पूर्वाधार पुर्याइन्छ, जग्गा विकास गरेपछि जग्गाधनीलाई नै फिर्ता गरिन्छ, घडेरीमा सुविधा पुगेबापत जग्गाधनीले सडकका लागि २५ प्रतिशत र खुला क्षेत्रका लागि पाँच प्रतिशत जग्गा छोडनुपर्छ” – उनले भनिन्।

बाहिरी चक्रपथको ७२ किमी दूरीमध्ये पहिलोचरणमा ६. ६ किमीको जग्गा विकास गर्न लागिएको हो। जग्गा विकासका लागि यस क्षेत्रका जग्गा धनी सहमत छन् वा छैनन् भनी राय बुझ्न ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरिएको आयोजनाले जनाएको छ।

आयोजनाले भू–उपयोग योजनालाई आधार मानेर जग्गा विकास गर्न लागेको हो । जग्गा विकासका लागि जनतासँग जग्गा लिएर आवश्यक पर्ने अन्य खर्च सरकारले नै गर्नेछ।

जग्गा विकासपछि बाहिरी चक्रपथको सडक निर्माण सुरु गरिनेछ । सडक केन्द्ररेखाबाट दायाँबायाँ २५ मिटर गरी ५० मिटर हुने आयोजनाले जनाएको छ। रासस 

No comments:

Post a Comment