Saturday, 18 June 2016

स्वास्थ्य बिमाको प्रिमियम २५ सय, क्षतिपूर्ति ५० हजार मात्रै



५ जनासम्मको परिवारले स्वास्थ्य बिमा गरेपछि प्रिमियमको रुपमा वार्षिक २५ सय रुपैयाँ तिर्नुपर्दछ।  बिमा गरेपछि बिरामी परेमा उपचारपश्चात यस समितिले ५० हजार रुपैयाँसम्मको मात्रै उपचार शुल्क ब्यहोर्ने छ। बिमा गर्दा उल्लेख गरेकै सरकारी अस्पतालमा उपचार गर्नुपर्ने व्यवस्था रहेको भट्टराईले जानकारी दिएका छन्।

नेपाल सरकारले अहिले तीन जिल्लामा कार्यान्वयन गरेको स्वास्थ्य बिमामा वार्षिक २५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्ने भए पनि क्षतिपुर्ति भने ५० हजार मात्रै पाइन्छ।

सरकारले आगामी आर्थिक वर्षमा २५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ। तर चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने भनिएका बाग्लुङ, इलाम र कैलाली जिल्लामध्ये हालसम्म कैलालीमा मात्रै यो कार्यक्रम लागू भएको छ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका शाखा अधिकृत तुल्सी भट्टराईका अनुसार कैलालीमा गत चैत्र २५ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको छ। ५ जनासम्मको परिवारले यस्तो स्वास्थ्य बिमा गरेपछि प्रिमियमको रुपमा वार्षिक २५ सय रुपैयाँ तिर्नुपर्दछ।

साथै यसरी बिमा गरेपश्चात बिरामी परेमा उपचारपश्चात यस समितिले ५० हजार रुपैयाँसम्मको मात्रै उपचार शुल्क ब्यहोर्ने छ। उपचारका क्रममा बिमा गर्दा उल्लेख गरेकै सरकारी अस्पतालमा उपचार गर्नुपर्ने व्यवस्था रहेको भट्टराईले जानकारी दिएका छन्।

उनले भने ‘यो बिमा गरेपछि उपचार गर्दा लागेको खर्च पाइन्छ तर यसको सीमा ५० हजारसम्मको मात्रै छ।’ परिवारको संख्या ५ जनाभन्दा माथिको भएमा प्रिमियममा प्रतिव्यक्ति ४ सय २५ रुपैयाँका दरले थप्नु पर्दछ। साथै यसको क्षतिपुर्ति पनि प्रतिव्यक्ति १० हजारका दरले बढी पाइन्छ। ५ जना भन्दा थोरै संख्या रहेको परिवार भए पनि उक्त परिवारले वार्षिक २५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्दछ।

चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको स्वास्थ्य बिमाका लागि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विभिन्न जिल्लामा अहिले दर्ता सहयोगी छनौट गर्न लागेको छ। सहयोगीहरुले अहिले तीन जिल्लामा घर घरमा गएर बिमा गर्ने परिवारको दर्ता गर्न लागिरहेका छन्।

बिमाका प्रावधानमा भने केही त्रुटीहरु पनि देखिएका छन्। बिमा गर्दा उल्लेख गरेको अस्पतालदेखि बाहेक अन्य सरकारी अस्पतालमै उपचार गराए पनि क्षतिपूर्ति पाइँदैन। भट्टराईले भने ‘बिमा गर्ने क्रममा भरेको कागजातमा उल्लेख गरेको अस्पताल वा स्वास्थ्य चौकीमा उपचार गरेमा त्यसको क्षतिपुर्ति दिइँदैन, फारममा उल्लेख गरेको अस्पतालले रिफर गरे मात्रै अर्को अस्पतालमा उपचार गराउँदाको क्षतिपुर्ति पाइन्छ।’

तर सरकारी बाहेक अन्य निजी अस्पतालमा रिफर गरेमा भने त्यस्ता अस्पतालमा उपचार गरेको खर्च सरकारले उपलब्ध गराउँदैन।  देशमा रहेका  निर्जीवन बिमा कम्पनीले राम्रोसँग चिनेका बाहेक अन्यको बिमा खासै गर्ने गरेका छैनन्। गतल रिपोर्ट पेस गर्दै क्षतिपुर्ति उठाउने डरले बिमा कम्पनीहरुले हालसम्म स्वास्थ्य बिमालाई सशक्त बनाएर लान नसकेको बिमा कम्पनीका निर्देशक श्रीमान कार्कीले जानकारी दिए।

‘गलत रिपोर्ट पेस गरेर क्षतिपुर्ति लिने डरले बिमा कम्पनीले यसलाई सशक्त बनाएर लान सकेका छैनन्, किनकि हाम्रा अस्पतालबाट गलत रुपमा समेत रिपोर्ट पेस हुने गरेको छ’ उनले भने।

गलत रुपमा पेस भएको रिपोर्टमा क्षतिपुर्ति दिनुपर्ने डरले अहिले बिमा कम्पनीले सामुहिक रुपमा संस्थागत कर्मचारीको बिमा गर्ने गरेका  छन्। यसमा पनि ति संस्थाको अध्ययन पश्चातमात्रै बिमा हुने गरेको छ।

गुराँस लाइफ इन्सुरेन्सका सिइओ बालमुकुन्द रुपाखेतीले स्वास्थ्य बिमाको विषयमा दक्ष जनशक्तिको अभाव भएका कारण यसलाई अघि बढाउन नसकिएको बताउँछन्। उनले भने ‘गलत रुपमा रिपोर्ट पेस गर्ने र जालझेल गर्लान् भन्ने डरले नै स्वास्थ्य बिमा गर्न नसकिएको हो।’

No comments:

Post a Comment