सिन्धुली,२६ जेठ – १७ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा क्यानेश्वर गाविसमा खानेपानी तथा सरसफाइसम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
अतिरिक्त क्रियाकलापमार्फत सरसफाइका महत्वलाई बालबालिकाहरुबीच छलफलका विषयवस्तु बनाउने र बालबालिकामार्फत अभिभावकसम्म पु¥याउने उद्देश्यका साथ सञ्चालित उक्त कविता प्रतियोगितामा क्यानेश्वर उमावि कक्षा १० मा अध्ययनरत छात्रा शर्मिला रायमाझी प्रथम, कुण्डेश्वर मावि ढप्सारमा अध्ययनरत छात्रा अम्बिका योन्जन द्वितिय, क्यानेश्वर उमाविका कक्षा ९ का पवित्रा अधिकारी तृतीय र कक्षा १० का पूर्णिमा पुलामी सान्त्वना भएका छन् ।
गाविसको १० विद्यालयका १९ जना बालबालिकाहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रतियोगीहरुले सरसफाइ तथा खुला दिसा मुक्त अभियानलाई कविता मार्फत व्यक्त गरेका थिए ।
विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण तथा बधाई ज्ञापन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका मन्त्री लालबहादुर कार्कीले अतिरिक्त क्रियाकलापहरुमार्फत समुदायलाई सचेत गराउने कार्य सान्दर्भिक एवम् महत्वपूर्ण रहेकोले आगामी दिनमा पनि यसलाई विभिन्न अवसरहरुको सन्दर्भ जोडेर निरन्तरता दिदै जाने जानकारी गराए ।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक उत्थानशील परियोजनाको आयोजना तथा नेरेसो क्यानेश्वर उपशाखाका सभापति छिरिङ लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उच्च मावि क्यानेश्वरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शानुमान थिङ, प्राचार्य रामबाबु जैसवाल, नेरेसो जिल्ला शाखा सदस्य पुरुषोत्तम अधिकारीलगायतका उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन क्यानेश्वर उपशाखाका कोषाध्यक्ष शेखर लामाले गरेका थिए ।
‘घर–घरमा सफा चर्पी हामी जिम्मेवार, स्वच्छ पानी स्वस्थ बानी हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ १७ औं राष्ट्रिय सरसफाई सप्ताह यही जेष्ठ २३ गतेदेखि २९ गतेसम्म देशैभरि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

No comments:
Post a Comment